17th April 2026, Friday

Namaste

Express

आज राति सवारी नचलाउन जिल्ला सुरक्षा समिति स्याङ्जाको आग्रह

Post Image
8 महिना अगाडी

News by: Namaste Express

२०८२ श्रावण ४, आइतबार
वालिङ -सम्भावित जोखिमलाई ध्यानमा राख्दै आज राति स्याङ्जामा सवारी साधन नचलाउन अनुरोध गरिएको छ। मौसम पूर्वानुमान महाशाखाले स्याङ्जा लगायत छिमेकी जिल्लाहरूमा भारी वर्षा हुने पूर्वानुमान गरेको छ, त्यसैले सम्भावित जोखिमलाई ध्यानमा राख्दै रातको समयमा सवारी साधन सञ्चालन नगर्न-नचलाउन अनुरोध गरिएको छ।

स्याङ्जामा आज बिहानदेखि निरन्तर वर्षा भइरहेको र भोलिसम्म वर्षा हुने भएकाले जिल्ला सुरक्षा समितिले सम्भावित जोखिमलाई मध्यनजर गर्दै जनधनको क्षति हुन नदिन जिल्ला सुरक्षा समितिले निर्णय गरेको र रातको समयमा सवारीसाधन नचलाउन आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले बताए ।

‘मौसम पूर्वानुमान महाशाखाले भारी वर्षा हुने भनी प्रक्षेपण गरेकाले आज साँझ ५ः०० बजेदेखि भोलि बिहान ५ बजेसम्म १२ घण्टा अत्यावश्यकबाहेक अन्य कुनै पनि सवारीसाधन सञ्चालन नगर्न अनुरोध गरेका छौँ’, उनले भने, ‘अत्यावश्यकबाहेकका सवारीसाधन सञ्चालन गर्नैपर्ने अवस्था आए नजिकको सुरक्षा निकायसँग समन्वय गर्न आग्रह छ ।’

जिल्लाको मध्यभाग भएर सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्ग करिब ९० किलोमिटर रहेको छ । यस राजमार्ग तथा जिल्लाभित्रका अन्य सहायक सडकमा पनि रातको समयमा सवारीसाधन सञ्चालन नगर्न जिल्ला सुरक्षा समितिले निर्णयसहित अनुरोध गरेको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

सम्भावित वर्षाका कारणले भूक्ष्य, बाढी, पहिरोको जोखिम रहेकाले कालीगण्डकी नदी किनार, आँधीखोलालगायतका स्थानीय खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन पनि सबैलाई आग्रह गरिएको छ ।


No ad available.


No active ad available.