17th April 2026, Friday

Namaste

Express

राष्ट्रिय परिचयपत्र सेवा आंशिक रूपमा अवरुद्ध, सेवाग्राही मर्कामा

Post Image
8 महिना अगाडी

News by: Namaste Express

२०८२ श्रावण ५, सोमबार
काठमाडौं राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवाहरू आंशिक रूपमा अवरुद्ध भएको जानकारी दिएको छ।

राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीको नियमित मर्मतसम्भार र क्षमता विस्तारका कारण मर्मतसम्भार पूरा नभएसम्म विभागसँग सम्बन्धित तोकिएका सेवाहरू आंशिक रूपमा अवरुद्ध भएको विभागका सूचना अधिकारी शिवराज सेढाईंले जानकारी दिए।

उनका अनुसार अनलाइन राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन र कार्ड वितरण सेवा, राष्ट्रिय परिचयपत्र विवरण सच्याउने सेवा, जन्म दर्ता गर्दा राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गर्ने सेवा, सामाजिक सुरक्षा भत्ताका लाभार्थीहरूको नाम दर्ता र नवीकरण गर्दा राष्ट्रिय परिचयपत्र नम्बर/जीवनी विवरण प्रमाणित गर्ने सेवा र राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीसँग अन्तरसम्बन्धित अन्य सार्वजनिक सेवाहरू अवरुद्ध भएका छन्।

विभागले सरोकारवाला तथा सेवाग्राहीको जानकारीका लागि सार्वजनिक सूचना जारी गर्दै मर्मत कार्य सम्पन्न भएपछि सेवा पुनः सुरु हुने जनाएको छ। विभागले आइतबारदेखि सेवा बन्द गरिएको जनाएको छ।

राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन र वितरण सम्बन्धी काम,कार्य अफलाईनमार्फत् गर्न सकिने भएकाले विभागले सबै राष्ट्रिय परिचयपत्र सेवा इकाइहरूलाई सोही अनुसार गर्ने व्यवस्था मिलाउन जानकारी गराएको छ र आम जनतालाई पनि यस कार्यमा सहयोग गर्न अनुरोध गरेको छ।

सूचना अधिकारी सेढाईंले अनलाइन सेवा पुनः सुरु भएपछि आफ्नो राष्ट्रिय परिचयपत्रको विवरण अफलाइन दर्ता गरेका सेवाग्राहीहरूले एसएमएस मार्फत आफ्नो राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गर्ने जानकारी दिए।


No ad available.


No active ad available.