17th April 2026, Friday

Namaste

Express

विपक्षीलाई पेलेरै अघि बढ्ने सत्तापक्षको तयारी

Post Image
10 महिना अगाडी

News by: Namaste Express

सत्तारुढ दलका सांसदहरूले विपक्षी दलहरूले असहयोग गरे पनि संसद्को कारबाही अघि बढाउने बताएका छन् । सत्तापक्षले सदनको अवरोध खुलाउन विपक्षी सहमत नभए पेलेरै अघि बढ्ने निश्कर्ष निकालेको छ। सभामुख देवराज घिमिरेसँगको छलफलमा सत्तापक्ष र प्रतिपक्षी दलका नेताहरुबीच सहमति हुन नसकेपछि सत्तापक्षले यस्तो चेतावनी दिएको हो ।

आइताबर संसद्को गतिरोध अन्त्य गर्न सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सत्तारुढ दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले यस्तो बताएका हुन् ।

घिमिरेले संसदलाई अगाडि बढाउन प्रतिपक्षी सकारात्मक नभएको भन्दै प्रतिपक्षीले सहयोग गरेको खण्डमा छलफल सकारात्मक ढंगले अगाडि बढ्ने बताए ।

‘आजबाट संसद सञ्चालनमा आउँछ । अपोजिसनबाट हामीले कुनैपनि निष्कर्ष र निर्णय हामीले पाएका छैनौँ,’ घिमिरेले भने, ‘उहाँहरूले सहयोग गरे राम्रैसँग सञ्चालनमा आउँछ । यदि उहाँहरूले अप्ठ्यारो गरेपनि केही असहज होला तर संसद अगाडि बढ्छ ।’

त्यस्तै, नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले पनि यसअघि जस्तो सूचना टाँस गरेर संसद् स्थगित गर्ने पक्षमा आफूहरू नरहेको बताए ।
‘प्रमुख प्रतिपक्षी दहलहरुले सहमतिको लागि बैठक स्थगित गर्न अपिल गर्नुहुन्थ्यो । हामीले त्यो हामीले मान्दै आयौँ,’ बर्तौलाले भने, ‘आजको बैठकमा चाँही हिजोको जस्तो सूचना टाँस गरेर स्थगित गर्ने हिजोको निरन्तरता हुँदैन ।’

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेसहितको छलफलका क्रममा आ–आफ्ना अडान यथावत रहँदा सहमति जुट्न सकेको छैन ।आजका लागि प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बोलाइएको छ । यद्यपि बैठक निर्धारित समयमा सुरु हुन सकेको छैन । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लखेककमाथि छानबिन हुनुपर्ने प्रतिपक्षीको अडानका कारण संसद अवरोध हुँदै आएको छ ।
निरन्तरको अवरेधका कारण अगामी आर्थिक वर्षको बजेटमाथिको छलफल समेत प्रभावित भएको छ ।


No ad available.


No active ad available.