17th April 2026, Friday

Namaste

Express

सामाजिक सञ्जालमा रक्षात्मक बनेपछि ओलीले चलाए ‘झोले अभियान

Post Image
10 महिना अगाडी

News by: Namaste Express

९ जेठ, काठमाडौं । सन् २०१९ मा भारतमा कंग्रेस आईका नेता राहुल गान्धीले कुनै सन्दर्भमा ‘चौकीदार नै चोर बने’ भनेर टिप्पणी गरेका थिए । प्रधानमन्त्री नरेन्द्र मोदी र उनको दल भारतीय जनता पार्टीको चर्को आलोचना गर्ने राहुल गान्धीको यही टिप्पणीलाई मोदीले अवसरको रूपमा लिए ।
मोदीले “मै भी चौकीदार” भन्ने नारा सहित अभियान नै सुरु गरे । त्यसबेला मोदीले आफ्नो आधिकारिक ट्वीटर ह्यान्डलको नाम पनि परिवर्तन गरेर ‘चौकीदार नरेन्द्र मोदी’ राखेका थिए । त्यसपछि भाजपाका नेताहरूले आफ्नो ट्वीटरको डिस्प्ले नामका अघिल्तिर चौकीदार थप्न थाले । विपक्षीले नाटकको संज्ञा दिंदै अभियानको विरोध गरे ।

भारतमा भाजपा र प्रतिपक्षीहरूको आरोप-प्रत्यारोप संसद्‌देखि सामाजिक सञ्जालसम्मै खुब चलेको हुन्छ । उनीहरूले आफ्नो लोकप्रियताको मापन सामाजिक सञ्जालबाट गर्छन् । पछिल्ला केही वर्षमा भारतको हावा नेपालतिर पनि सर्दै आएको छ । समाजको गति कता दौडिरहेको छ भन्ने थाहा पाउने मापनयन्त्र नै सामाजिक सञ्जाल भएका छन् । कतिसम्म भने कसैले प्रधानमन्त्रीको प्रशंसा गर्दा ती मान्छेहरूलाई नै झोले भनेर सामाजिक सञ्जालमा ट्रोल गर्नेसम्म भएको छ ।

सत्ताको नेतृत्व गरिरहेको दल नेकपा एमालेले सामाजिक सञ्जालमा ‘म झोले हो’ अभियान चलाएको छ । केही दिन अघि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा कार्यक्रममा ‘म एमालेको झोले हुँ, यस देशको झोले हुँ, परिवर्तनको झोले हुँ’ भनेका जसलाई एमाले नेताहरुले अहिले सेयर गरिरहेका छन् ।
यो सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओली ०७९ को निर्वाचनसम्म लोकप्रिय नै थिए । तर पछिल्ला वर्षहरूमा सामाजिक सञ्जालमा एमाले र प्रधानमन्त्री केपी शर्मा ओलीको लोकप्रियताको ग्राफ विस्तारै खस्किंदै गएको छ ।

पछिल्लो पटक एउटा किताब विमोचनमा गायक प्रकाश सपूतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा गर्दा त्यसको असर उनको चलचित्र ‘बसन्त’लाई परेको थियो । सामाजिक सञ्जालमा एकदमै नकारात्मक प्रतिक्रिया आउन थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिक्रियास्वरूप झोले अभियान थालेका हुन् ।

‘सोसियल मिडियामा सामाजिक विमर्श भइरहेको छैन । मान्छेहरूका आ-आफ्ना पोजिसन पहिल्यै बनाएर बसेका हुन्छन् । अनि एउटाले एउटा कुरा भन्यो भने त्यो सत्य हो कि असत्य हो भनेर परीक्षण नगर्ने बरू अर्को पोलमा उभिने अर्कोलाई गाली गर्ने चलन छ,’ बजगाईंले भने, ‘खासगरी सडक बनाएको फोटो राख्दा पनि तँलाई झोले सडक बनाएको फोटो राख्छस् भन्छन् । झोले हुँदा पनि के आपत्ति मान्नुपर्छ त भनेर पोष्टर सार्वजनिक गरेका हौं ।’

पोस्टर बाहेक ओलीले स्ट्याटस पनि लेखेका छन् । जहाँ झोले आरोपबाट नडराउन कार्यकर्तालाई प्रोत्साहन गरिएको छ । ‘सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोडौं । सामूहिक र संगठित आक्रमणबाट हरेकले आफ्नो निजत्व जोगाउनुपर्छ’, ओलीले लेखेका छन् ।
उनले उक्त पोस्टर सोसियल मिडिया म्यानुपुलेसन गर्ने सबैका लागि लक्षित रहेको बताए। गत शनिबार एमालेको जनसंगठन नेपाल बुद्धिजीवी परिषद्को ११औं महाधिवेशनमा ओलीले ‘झोले’ शब्दलाई धेरै नै जोड दिएर बोलेका थिए ।

‘मलाई अलिकति पनि अप्ठेरो लाग्दैन, म जनताको झोला बोकेर हिंड्ने मान्छे हुँ । जनताको हितहरूको झोला बोक्ने, जनताको हितको झोला बोक्ने, गौरवको झोला बोक्ने, परिवर्तनको झण्डा उठाउने झोले हुँ, के भयो त झोले बन्दा ?’, ओलीले भनेका थिए ।

प्रधानमन्त्री ओली त्यतिमै रोकिएनन् । देश संक्रमणकालमा रहेको र सही निकास खोजिरहेकाले परिस्थितिमा सुधारका लागि बुद्धिजीवीको भूमिका रहने भएकाले त्यस अनुसार सक्रिय हुन आग्रह पनि उनले गरे ।

जेमा पनि खोट देख्ने तथाकथित आलोचनात्मक चेतबाट माथि उठ्न उनले आग्रह गरेका थिए । उनको आग्रहलाई बुद्धिजीवीहरूले कसरी लिए सार्वजनिक गरिसकेका छैनन् । यस्तो घोषणा गरेको दुई दिनपछि सोमबार प्रधानमन्त्री ओलीले आफूलाई झोले भन्दै सामाजिक सञ्जाल फेसबुकमा आफू झोले भएको पोष्टर टाँसेका हुन् ।

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले आफूलाई ‘झोले’को रूपमा चित्रण गर्दै सामाजिक सञ्जाल फेसबुकमा एक पोस्टर सार्वजनिक गरेका छन् । पोस्टरमा दुई हात जोडेको आफ्नो तस्बिरमा लेखिएको छ ‘म एमालेको झोले हुँ । यस देशका जनताको झोले हुँ । अब भयो, चित्त बुझ्यो प्रतिक्रियावादीहरूलाई ? यति भन्दा एमालेको विरोधीहरूलाई चित्त बुझ्छ होला । म यो झोलामा देश र जनताको परिवर्तनको चाहनालाई बोकेर हिंड्छु । यसमा मलाई गर्व छ,’ प्रधानमन्त्री ओलीले भने । एउटा सामन्ती परिवारको दास बन्नुभन्दा देशमा परिवर्तन र विकासको झोला बोकेर हिँड्नु कयौं गुणा उत्तम चरित्र हो ।’

एमाले स्रोतका अनुसार यो अभियान ओली निकट केही युवा-विद्यार्थीले सुरु गरेका थिए । ‘अध्यक्षले बोलेको सुनेर प्रधानमन्त्रीसँग नजिक भएको देखाउन केही युवाहरुले पोष्टर बनाएर पठाए । प्रधानमन्त्री त्यसमा सहमत भएर आफ्नो पेजमा राख्नुभयो’ एमाले स्रोत भन्छ ‘यसपछि त अरु नेताहरुलाई पठाउन थालियो, र नेताहरुले पनि केही नसोची शेयर गर्न थाल्नुभयो ।’

विशेषगरी पार्टी उपाध्यक्ष तथा उपप्रधानमन्त्री विष्णुप्रसाद पोडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल लगायतको पोष्टले अरु नेता-कार्यकर्तालाई पनि प्रोत्साहित गरेको देखिन्छ । नेताहरुले झोले पोष्टर राखिरहँदा त्यसबारे प्रष्ट्याउने कोशिश पनि गरिरहेका छन् ।

उपमहासचिव प्रदीप ज्ञवालीले राजावादीहरुको खण्डनमा चलाइएको यो अभियानप्रति संकोच मान्न नहुने तर्क गरेका छन् । ‘‍… प्रतिस्पर्धात्मक लोकतन्त्रका पक्षधरहरूलाई चाहिं ‘झोले’ भन्दै खिसिट्युरी गर्ने उनीहरू चाहन्छन्- राजनीतिक कार्यकर्ताहरू, कुनै नेतालाई मन पराउने कलाकारहरू या नागरिकहरू ‘सेल्फ सेन्सर्ड’ बनून् र बोल्न छाडून्’ उनले लेखेका छन्, ‘यो दूषित मनसायलाई हुर्किन दिनुहुन्न । सामन्तको पो झोला बोक्न हुन्न, विचारको झोला बोक्न के को सङ्कोच !’

सामाजिक सञ्जालमा रक्षात्मक बनिरहेका बेला एमालेलाई आक्रामक बनाउन प्रधानमन्त्री सचिवालयले थालेको यो अभियानको पनि सामाजिक सञ्जालमा एमाले बाहेक अरूले सकारात्मक प्रतिक्रिया दिएका छैनन् । यसअघि पनि प्रधानमन्त्री ओलीले पार्टी र पार्टी नेतृत्वबिरूद्ध बोल्नेहरूमाथि अरिंगाल बन्न निर्देशन दिएका थिए ।

सामाजिक सञ्जालमा आक्रामक हस्तक्षेप गर्न भन्दै एमालेले साइबर सेना पनि गठन गरेको थियो । समयान्तरमा साइबर आक्रमणबाट एमाले नै रक्षात्मक बन्नु परेको छ । अर्थात् यसअघिका प्रयासहरु पनि सफल भएका थिएनन् ।

ओलीले ‘म झोले हो’ को तस्बिर सार्वजनिक गरेसँगै एमालेका अधिकांश शीर्ष नेतासहित नेता कार्यकर्ता र समर्थकले यस्तै खालको पोस्टर सामाजिक सञ्जालमा सेयर गरिरहेका छन् । एमाले उपाध्यक्षसमेत रहेका उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल, महासचिव शंकर पोखरेल, प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल लगायतले आफ्नो तस्बिर राख्दै पोस्ट सेयर गरिरहेका छन् ।



No ad available.


No active ad available.