17th April 2026, Friday

Namaste

Express

'टुरिज्म/पर्यटन सूचना केन्द्र'को स्थापना थमेलमा

Post Image
9 महिना अगाडी

News by: Namaste Express

२०८२ असार २८ , शनिवार
काठमाडौं - संघीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा 'पर्यटन सूचना केन्द्र' स्थापना गरिएको छ। बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले काठमाडौँ महानगरपालिका-२६ र ठमेल पर्यटन विकास परिषद्सँगको सहकार्यमा 'पर्यटन सूचना केन्द्र' स्थापना गरेको छ।

बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री बिमल ठकुरीले आज उक्त केन्द्रको उद्घाटन गर्नुभयो। कार्यक्रममा मन्त्री ठकुरीले सूचना केन्द्रले ठमेलमा मात्र नभई नेपालमा पनि पर्यटन विकासमा मद्दत (सहयोग) गर्ने विश्वास व्यक्त गर्नुभयो।

उहाँले चितवनपछि बागमती प्रदेशले ठमेलमा पर्यटन सूचना केन्द्र स्थापना गरेको जानकारी दिँदै पर्यटकहरूले उक्त केन्द्रबाट नेपालको पर्यटन गतिविधिको बारेमा जान्न सक्ने बताए। ठमेलमा सार्वजनिक शौचालय पनि निर्माण गरिने बताउनुभयो।

काठमाडौँ महानगरपालिका-२६ का वडा अध्यक्ष ख्यामराज तिवारीले नेपाल भ्रमण गर्ने ८० प्रतिशत विदेशी पर्यटक ठमेल भ्रमण गर्न आउने भएकाले सूचना केन्द्रले उनीहरूलाई मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो।
बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीले प्रदेश सरकारले प्रदेशभित्रका सबै जिल्लाका पर्यटकीय गन्तव्यहरूलाई समेटेर ‘यात्रा
Post Image
पुस्तक/ट्राभल बुक’ प्रकाशन गर्न लागेको जानकारी दिए। उनले पर्यटन सूचना केन्द्रलाई प्रविधिसँग जोडेर प्रदेश सरकारले अगाडि बढ्न खोजेको उल्लेख गरे।

पर्यटन कार्यालय काठमाडौँका प्रमुख भक्तबहादुर भण्डारी, ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष धुब्र अधिकारी, पूर्वअध्यक्ष डा. रामशरण थपलिया, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डे लगायतले पर्यटन सूचना केन्द्र स्थापनाले पर्यटकहरूलाई सहज हुने र पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताए।

आजदेखि सुरु भएको सूचना केन्द्रले पर्यटकहरूलाई नेपालको पदयात्रा मार्ग, यातायात, होटल, स्थानीय कला र संस्कृतिको बारेमा जानकारी प्रदान गर्ने बागमती प्रदेश पर्यटन मन्त्रालयका पर्यटन महाशाखा प्रमुख पवनकुमार पोखरेलले जानकारी दिए।

ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष सहदेव (बिमल) धमलाले अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचानको प्रतिनिधित्व गर्ने ठमेललाई व्यवस्थित गर्न परिषद्ले काम गरिरहेको बताए। उनले आगामी दिनमा पनि ठमेल क्षेत्रलाई गतिशील बनाउन प्रदेश सरकारले निरन्तर सहयोग र समर्थन गर्ने विश्वास व्यक्त गरे।


No ad available.


No active ad available.