17th April 2026, Friday

Namaste

Express

जलविद्युतको आइपीओ प्रक्रियामा कडाई, बिजुली उत्पादन नगरी जलविद्युत कम्पनीहरुले आइपीओ जारी गर्न नपाउने

Post Image
10 महिना अगाडी

News by: Namaste Express

बिजुली उत्पादन नगरी जलविद्युत कम्पनीहरुले आइपीओ जारी गर्न नपाउने व्यवस्था लागू हुने भएको छ । उक्त व्यवस्थाको कार्यान्वयनको बारेमा नेपाल धितोपत्र बोर्डमा छलफल सुरु भएको छ । तथापि, यसमा कसरी र कहिलेसम्ममा कार्यान्वयनमा लैजाने भन्नेमा चाहिँ आधिकारिक निर्णय भइनसकेको धितोपत्र बोर्ड स्रोतले बताएको छ ।

उच्चस्तरीय आर्थिक सुझाव आयोगले जलविद्युत कम्पनीहरुको प्राथमिक सेयर निष्काशन (आईपीओ) प्रक्रियामा सुधार गर्नुपर्ने आवश्यकता औंल्याउँदै, उत्पादन थालनीपछि मात्रै आईपीओ जारी गर्न दिने प्रस्ताव अघि सारेको छ।

शुक्रबार आयोगले अर्थमन्त्री विष्णु पौडेललाई बुझाएको प्रतिवेदनमा जलविद्युत क्षेत्रको लगानी जोखिम कम गर्न र सर्वसाधारण लगानीकर्ताको हित सुरक्षित गर्न यस्तो सिफारिस गरिएको हो।

‘जलविद्युत कम्पनीले उत्पादन सुरु गरेपछि मात्र प्राथमिक निष्काशन गर्न पाउने व्यवस्था गर्ने’ आयोगले सुझावमा भनेको छ ।

हाल प्रचलित नियमअनुसार कतिपय जलविद्युत कम्पनीहरुले आयोजना निर्माणको प्रारम्भिक चरणमै आईपीओ निष्काशन गर्ने गरेका छन्।

आइपीओ प्रणालीकै कारणले विभिन्न कम्पनीलाई पुँजी जुटाउन सहज वातावरण बनाए पनि यसमा धेरै विकृति रहेको अध्ययन समितिको ठहर छ । आयोजना सम्पन्न नहुँदै आइपीओ निष्कासन गरेर हाइड्रोपावरका संस्थापकले सेयर बजारबाट पैसा उठाउने तर लकइन सकिएपछि सर्वसाधारणलाई भिडाएर बाहिरिने विकृति देखिएपछि कडाइ गर्न लागिएको हो ।


No ad available.


No active ad available.