17th April 2026, Friday

Namaste

Express

रोनाल्डो बने ई-स्पोर्ट्स् विश्वकपका ग्लोबल एम्बासडर

Post Image
10 महिना अगाडी

News by: Namaste Express

ई-स्पोर्ट्स विश्वकप फाउन्डेशनले स्टार फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोलाई सन् २०२५ मा हुन लागेको ई-स्पोर्ट्स विश्वकपको ग्लोबल ब्रान्ड एम्बासडर घोषणा गरेको छ ।

यो साझेदारीमार्फत ई-स्पोर्ट्सको लोकप्रियतालाई अझै फैलाउने अनि परम्परागत खेलकुद र ई-स्पोर्ट्सबीचको अन्तर घटाउने फाउन्डेशनले लक्ष्य राखेको छ ।

फाउन्डेशनका प्रमुख राल्फ रीचर्टले भने कि रोनाल्डो अनुभवी खेलाडीदेखि नयाँ प्रतियोगीसम्म सबैका लागि एक प्रेरणा बनेका छन् । ‘रोनाल्डको उत्कृष्टतालाई ई-स्पोर्ट्स वर्ल्ड कपको भावना प्रतिनिधित्व गर्दछ । परम्परागत खेलकुद अनि प्रतिस्पर्धात्मक गेमिङको सम्बन्ध अझ सुदृढ बनाउन उनको साथ हुन पाउनु गर्वको कुरा हो’ उहाँले भन्नुभयो।

रोनाल्डोले विश्वकपको मुख्य अभियानको नेतृत्व गर्दै ‘राइज एबभ’ अर्थात् ‘सबै सीमा नाघेर अघि बढिने’ अर्थको नारा प्रचार गर्नेछन् । यो नाराले मानव क्षमताको अनुभूति गराउने, साहस, परिश्रम अनि उत्कृष्टतालाई प्रेरित गर्ने सन्देश बोकेको फाउन्डेशनले जनाएको छ ।

‘खेल सदा परिवर्तन हुन सक्छ, ई-स्पोर्ट्स पनि एक नयाँ क्षेत्रमा फैलिँदै छ । यहाँ खेलाडीहरूको लगन, कौशल अनि साहस परम्परागत खेलमा जस्तै छन् । म यो कार्यक्रमको एम्बासडर हुन पाउनुमा गर्व गर्छु । भविष्यको पुस्तालाई प्रेरित गर्न म साथ दिनेछु’ क्रिस्टियानो रोनाल्डोले भनेका छन् ।

रोनाल्डोको सम्बन्ध ई-स्पोर्ट्स विश्वकपसँग पहिलेदेखि नै रहिआएको छ । सन् २०२३ मा कार्यक्रमको घोषणा गर्दा पनि उनी सहभागी थिए । साथै गएको समरमा साउदी अरबको रियादमा गरिएको समापन समारोहमा पनि उनको उपस्थितिले कार्यक्रमको गरिमा अझै उच्च गरेको फाउन्डेशनको विज्ञप्तिमा उल्लेख छ ।

फल्सोनको च्याम्पियन बन्ने उत्सवमा पनि क्रिस्टियानो सहभागी रहेको बताइएको छ । रोनाल्डोबाहेक लियोनेल मेस्सी, रूड गुलिट जस्ता खेलाडीहरूसमेत ई-स्पोर्ट्समा लगानी गरिरहेका छन् ।

ई-स्पोर्ट्स विश्वकप २०२५ मा एकै स्थानमा अन्तर्राष्ट्रिय ई-स्पोर्ट्स समुदाय, खेलाडी, क्लब अनि दर्शकहरूको जमघट हुनेछ । प्रतियोगितामा २,००० उत्कृष्ट खेलाडी, २०० क्लब अनि १०० देश सहभागी हुनेछन् ।

प्रतियोगितामा २५ प्रतियोगिताहरू, २४ खेलहरूको साथमा ७ करोड अमेरिकी डलरभन्दा बढीको पुरस्कार राशी राखिएको छ ।

ई-स्पोर्ट्स विश्वकप एक प्रमुख वार्षिक कार्यक्रम हो जहाँ अन्तर्राष्ट्रिय प्रतियोगिता, कौशल, साहस अनि एकतालाई उत्सवको रुपमा मनाइने गरिएको छ ।


No ad available.


No active ad available.