17th April 2026, Friday

Namaste

Express

ग्यास चुहावटका कारण दुई घरमा आगलागी, चार जना घाइते

Post Image
8 महिना अगाडी

News by: Namaste Express

२०८२ श्रावण ६, मंगलबार
झापा -हल्दीबारी गाउँपालिका-४ मा आज एक घरमा लागेको आगो निभाउने क्रममा चार जना घाइते भएका छन्।

स्थानीय पुण्यप्रसाद ओलीको दुई तले घरको माथिल्लो तल्लामा रहेको भान्छामा रोटी पकाउने क्रममा एलपी ग्यास चुहिएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

भान्सामा लागेको आगो निभाउने क्रममा सोही घरका ६० वर्षीय पुण्यप्रसाद ओली, उनका ३३ वर्षीय जेठा छोरा सन्तोष ओली, ३२ वर्षीया बुहारी अनिता ओली र २० वर्षीय कान्छा छोरा आर्यन ओली घाइते भएका छन्। घाइते चारै जनाको शरीरको विभिन्न भागमा आगोले पोलेको छ।

घाइते चारै जनालाई उपचारको लागि भद्रपुरको ओमसाई पाथीभरा अस्पताल लगिएको छ। घाइतेको अवस्था गम्भीर भएका कारणले घाइतेहरूलाई भद्रपुरबाट विराटनगर रेफर गरिएको छ।

बिहान ८ः४५ बजेतिर भान्सा कोठामा ग्यास चुहावट भएर आगलागी भएको थियो । आगलागीबाट भान्सा कोठामा आंशिक क्षति भएको प्रहरीले जनाएको छ ।

हल्दिबारीको कञ्चनश्रीस्थित अस्थायी प्रहरी पोस्टबाट आगलागी नियन्त्रणमा प्रहरी टोली परिचालन भएको सूचना अधिकारी खड्काले जानकारी दिए ।

यसैगरी, कचनकबल गाउँपालिका–६ बनियानीस्थित रतनलाल राजवंशीको भान्सा घरमा सोमवार सिलिन्डरबाट ग्यास चुहावट हुँदा आगलागी भएको छ ।

प्रहरीका अनुसार उक्त आगलागीबाट मानवीय तथा चौपाया क्षति भएको छैन । तर, भान्सा कोठामा रहेको फ्रिज एक थान, पानी तान्ने मोटर एक थान, भान्साको जस्ता/फलामको छाना र चुलो डढेर क्षति भएको छ ।

आगलागी भएको खबर पाएपछि बनियानीबाट खटिएको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा आगो नियन्त्रण गरेको थियो ।


No ad available.


No active ad available.